रामेछाप ६ मङ्सिर । सरकारी स्वास्थ्य सेवामा गुणस्तरीयता नहुने भन्दै नागरिकहरूले उपचार र स्वास्थ्य परीक्षणका लागि निजी अस्पताल धाउने प्रतिस्पर्धा चलिरहेको बेला जिल्ला अस्पताल रामेछापले भने आफ्नो सेवालाई लोभ लाग्दो बनाएको छ । एक दर्जन भन्दा बढी चिकित्सक अनि सुन्दर भवन र पर्याप्त सेवा सुविधा भएको जिल्ला अस्पताल रामेछापले विपन्न,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति र महिलाहरूलाई प्राथमिकता दिँदै आफ्नो सेवालाई गुणस्तरीय र लोभलाग्दो बनाएको हो ।
अस्पतालले आफ्ना सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राखी राजधानीका नाम चलेका सरकारी अस्पताल सरहको सुविधा दिँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनु भयो । उहाँले अस्पतालमा उपचारका लागि आउने सेवाग्राही हरूको सेवामा कुनै पनि कमी आउन नदिन र सेवा बाट सर्वसाधारणको मन जित्नका लागि हामीले हेल्प डेक्स मार्फत आवश्यक सबै सहयोग पनि गर्ने व्यवस्था मिलाएको पनि बताउनु भयो ।
जिल्ला अस्पताल प्रदेश सरकारको मातहत गएसँगै पछिल्लो समयमा प्राप्त नियमित र गुणस्तरीय स्वास्थ्य सेवाका कारण जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । जसका कारण अस्पतालमा दैनिक १ सय देखि १ सय ५० सम्म बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको मन्थली नगर पालिका वडा न ४ सालु बजारका सेवाग्राही राम श्रेष्ठले बताउनु भयो ।उहाँका अनुसार पछिल्लो समयमा अस्पतालले दिएको उत्कृष्ट सेवा सँगै अस्पताल प्रति नागरिकहरूको विश्वास बढ्दै गएको छ ।
अस्पतालमा आकस्मिक प्रसूतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसूति सेवा लिनेको सङ्ख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले बढेको अस्पतालको तथ्याङ्क छ । जुन सेवा लिनका लागि जिल्लाको अलावा छिमेकी जिल्ला ओखलढुङ्गा र सिन्धुली जिल्लाका विभिन्न ठाउँबाट सर्व साधारण आउने गरेको पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनु भयो ।
जिल्ला अस्पतालले सर्व साधारणलाई निःशुल्क स्वास्थ्य बिमा सँगै हप्ताको एक दिन शुक्रवार नागरिक सँग मुख्यमन्त्री सहयोग कार्यक्रम अन्तर्गत मुटु, मिर्गौला,मधुमेह,पेट लगायतको निशूल्क परीक्षण सँगै उपचार पनि निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । त्यसैगरि अस्पतालले भदौ १ गतेदेखि जनरल शय्या र अस्पतालमा भर्ना भएका बिरामी हरूका लागि खाना समेत निःशुल्क रूपमा खुवाउने व्यवस्था मिलाइँदै आएको छ । अस्पतालले आफ्नो सेवा विस्तार सँगै पछिल्लो समय विशेषज्ञ डाक्टरसहितको उपचार सेवा पनि सुरु गरेको छ । त्यसका लागि अस्पतालमा एक दर्जन भन्दा बढी चिकित्सकहरूले नियमित सवा दिँदै आएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठका अनुसार अस्पताले निःशुल्क रूपमा शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालनमा ल्याए सँगै हाल सम्म १ सय भन्दा बढी महिलाहरूको शल्यक्रिया मार्फत सुरक्षा रूपमा बच्चा जन्माइएको छ । त्यसैगरि जिल्ला अस्पतालले जनरल ओपिडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, मिर्गौला रोगीहरूका लागि डाइलसिस सेवा साथै, हर्नियाँ, हाइड्रो सिल, दाँत र आँखाको उपचार लगायतका स्वास्थ्य सेवा समेत प्रवाह गर्दे आएको छ ।
त्यसैगरि अस्पतालले सेवालाई प्रभावकारी र गुणस्तरीयता बनाउनका लागि सबै रोगहरूका लागि नयाँ, नयाँ उपकरण प्रयोगमा ल्याइएकाले पनि सर्व साधारणको स्वास्थ्य सेवा प्रति आकर्षण बढेको पनि डा श्रेष्ठले जानकारी दिनुभयो । त्यस बाहेक अस्पतालले भेन्टिलेटर मेसिन पनि ल्याई सकेकाले अब छिट्टै आइसियु सेवा पनि सुचारु गर्ने तयारी भइरहेको छ । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विकास गर्नै गरी थप प्रक्रिया समेत अघि बढाइ सकिएको छ ।
अस्पतालको सेवा लोभलाग्दो र प्रभावकारी बनाए सँगै यसको सेवालाई जिल्लाको गाउँ गाउँमा र बाहिरी जिल्ला सम्म विस्तार गर्ने अभियानमा सहयोग पुर्याउन अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले आग्रह गर्नुभयो । सेवामा आएको गुणस्तरलाई सर्व साधारण समक्ष पुर्याउने कार्यमा सहयोग पुर्याउन पनि अध्यक्ष पाख्रिनले सरोकारवाला हरू सबैलाई आग्रह गर्नु भयो । अस्पतालले प्रदान गर्दे आएको सेवा सुविधालाई जनमुखी र जनमैत्री बनाउनका लागि सदरमुकाम र स्थानीय सरकारका प्रमुख हरू र सरोकारवाला हरूसँग सुझाव र सहयोग लिएर काम गर्ने सोच अस्पतालले बनाएको जानकारी पनि अध्यक्षले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया