रामेछाप १० असोज । नेकपा एमाले रामेछापको तेस्रो पूर्ण बैठक पार्टीको वार्षिक कार्य योजना निर्माण र कार्य विभाजन सँगै सकिएकोको छ । बिहीबार मन्थलीमा पार्टीका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इन्चार्ज डा. राजन दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
बैठकमा जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले पार्टीको दोस्रो बैठक पछि भएका साङ्गठनिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले दोस्रो बैठक पछिको समीक्षामा एमाले रामेछापले विपद् र उद्धार सँगै पीडितहरूका लागि सहयोगमा समेत अग्र पङ्क्तिमा गएर काम गर्न सफल भएको भन्दै त्यसका लागि सबै नेता कार्यकर्ताहरूलाई धन्यवाद पनि दिनु भएको थियो । त्यस्तै निर्माणाधीन कार्यालय भवन निर्माण र त्यसको प्रगति सँगै पार्टी सदस्यता वितरण र नवीकरण, लगायतका काम पनि पार्टी पङ्क्तिबाट नियमित रूपमा भइरहेको जानकारी पनि बैठकका अवसरमा गराउनु भएको थियो ।
बैठकमा एमाले रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य हरू क्रमशः गणेश पहाडी, माधव ढुङ्गेल, गीता कार्कीले पनि एमालेको वर्तमान साङ्गठनिक अवस्था र त्यसमा कार्यकर्ताहरूले निभाउनु पर्ने भूमिकाका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, सदस्य आनन्द श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, रत्न गौतम, लव श्रेष्ठ, गोपाल श्रेष्ठ लगायत प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य र गाउँ पार्टी कमिटी अध्यक्ष हरूको समेत सहभागिता रहेको थियो ।
बैठकमा पार्टीको पालिका कमिटीका अध्यक्षहरूले पालिका कमिटीले गरेको काम र काम गर्दाका चुनौतीको बारेमा रिपोर्टिङ गर्नुभएको एमाले रामेछापका जिल्ला उपाध्यक्ष होत राज ढकालले जानकारी दिनु भयो । बैठकले पार्टीको वार्षिक कार्य योजना तथा बजेट पारित गरे सँगै पार्टी जिल्ला कमिटीका नेताहरूको कार्य विभाजन पनि गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया