रामेछाप । मन्थली नगरपालिका वडा नं ५ सुनार पानी भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लाई बाख्रा वितरण गरिएको छ ।अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले उक्त वडाका ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई फागुन ६ गते बाख्रा वितरण गरेको हो ।
मन्थली नगरपालिका र वडा कार्यालय सँगको समन्वय र बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोगमा सो संस्थाले चिट्ठा प्रथा मार्फत बाख्रा वितरण गरेको थियो । स्थानीय राजनीतिक दलका प्रतिनिधि,सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख , वडा अध्यक्ष रविन कार्की लगायत स्थानीय सरोकारवाला हरूको रोहबरमा मन्थली नगर पालिकाकी उप– प्रमुख ईश्वरी बस्नेतले सहभागी अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गर्नु भएको थियो ।
सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी उप– प्रमुख ईश्वरी बस्नेतले सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको संयोजनमा गरिएको बाख्रा वितरणले सुनार पानी भित्रका अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उपार्जनमा सहयोग पुग्ने बताउनु भयो । सो अवसरमा बोल्दै उपमेयर बस्नेतले सरकारले सुरु गरेको बाख्रा वितरण जस्ता कार्यले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक विकासमा पनि टेवा पुग्ने भन्दै यस कार्यमा नगरपालिकाले पनि कडाइका साथ अनुगमन गर्ने भन्दै सबैलाई ईमान्दारीताका साथ बाख्रा व्यवस्थापन गर्दे दीर्घकालीन जीवन निर्वाहका लागी सबैलाई आग्रह गर्नु भयो ।
३५ जनालाई प्रवोधिकरण र १५ लाई शैक्षिक सामाग्री
यसै बिच उक्त संस्थाले मन्थली नगरपालिका भित्र रहेका ३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता अधिकार र कानुनी परामर्श सम्बन्धी प्रवोधीकरण तालीम दिलाएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिका सँगको समन्वयमा भएको उक्त तालिममा प्रशिक्षक द्वय मिना पौडेल र सोनीका ढकालले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको उद्घाटन तथा समापन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा गर्नु भएको थियो ।
त्यसैगरि सो संस्थाले मन्थली नगर भित्रका दुई वटा मावि का १५ जना छात्र छात्राहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिका सँगको समन्वयमा मन्थली मावि र भैरवी माविका छात्र छात्राहरूलाई मन्थली नगर प्रमुख लव श्रेष्ठले उक्त शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया