रामेछाप । जिल्लाको रामेछाप नगरपालिका– ८ मा रहेको श्री शारदा संस्कृत माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत आवासिय कर्मकाण्ड विषयमा पठनपाठन गर्नेहरूका लागि आवासिय कक्षा आरम्भ गरेको छ । सो कक्षाको आरम्भ रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा मगरले एक समारोह बिच गरेका छन् । कार्यक्रमको आरम्भ गर्दै नगरप्रमुख थापा मगरले गुणस्तरिय र नैतीक शिक्षाका लागि संस्कृत विषयको कक्षा अपरिहार्य रहेको भन्दै यसका लागि विद्यालयले गरेको कामको प्रशंसा गरेका थिए । उनले विद्यालयले गुणस्तरिय शिक्षाको विकास सँगै संस्कृत विषय अन्तर्गत कर्मकाण्डको पठापाठन आरम्भ गर्नु विद्यालयको मात्र नभएर सिंगो जिल्लाको गर्वको विषय भएकोले यसको संरक्षणका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताए ।
जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निःशुल्क कर्मकाण्ड पढाउन सुरु गरेको हो । उक्त विषय लिएर पढ्न चाहने विद्यार्थीहरुलाई खाने, बस्ने व्यवस्थासहित निःशुल्क कर्मकाण्ड पढाइने उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले जानकारी दिए ।
पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि रामेछापमै पहिलो पटक निःशुल्क कर्मकाण्ड पढाउन थालिएको प्रधानाध्यापक घिमिरेले बताएका छन् । विद्यालयमा रहेको २५ जनाको कोटा मध्ये अहिले बैतडी, रामेछाप र दोलखाका १० जना विद्यार्थीहरु कर्मकाण्ड पढिरहेका छन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले कर्मकाण्ड अध्ययन गरिरहेको प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।
अन्य विभिन्न जिल्लाका कर्मकाण्ड पढ्न ईच्छुक विद्यार्थीहरुलाई समेत खाने, बस्ने व्यवस्था गरी पढाइने वि.व्य.स अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । कर्मकाण्ड अन्तर्गत रुद्री, चण्डी, वेद, भागवत पढाइने उनको भनाइ छ । निःशुल्क कर्मकाण्ड पढाउनका लागि आवश्यक पर्ने रकम व्यवस्थापनकालागि समाजसेवी शम्भु घिमिरेको नेतृत्वमा सहयोग जुटाउने काम भै रहेको छ । कर्मकाण्ड पठनपाठनलमा लाग्ने खर्चका लागि रामेछाप नगरपालिकाले आवासिय व्यवस्था गरेको छ भने अन्य स्थानीय तह, विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सकेको सहयोग प्रदान गरेर पुरोहित पेशा र संस्कृत भाषा लोप हुनबाट जोगाउन विव्यस अध्यक्ष घिमिरेले आग्रह गरेका छन्।
कार्यक्रममा स्थानिय समाजसेवी शम्भु प्रसाद घिमिरेले विद्यालयका सम्पूर्ण छात्रछात्राका लागि जुत्ता मोजा उपलब्ध गराएका थिए । यस अघि उनले विद्यार्थीहरूका लागि विद्यालय पोशाक र झोला उपलब्ध गराएका थिए । उनले आगामी दिनमा नगरका सबै विद्यालयहरूका असहाय र बिपन्न विद्यार्थीहरूका लागि यसै गरि सहयोग गर्ने जानकारी समेत गराएका छन् ।
कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना बस्नेतले विद्यालयले आरम्भ गरेको अभियानले संस्कृत भाडाको संरक्षण र सम्बर्धनमा ठुलो भूमिका खेल्ने बताएकी छिन् । कार्यक्रममा वडा नं. ८ वडा अध्यक्ष केदार कार्की, समाजसेवी शम्भू घिमिरे, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, समाजसेवी गोबिन्द घिमिरे लगायतले बिद्यालयको कामको प्रसंशा गरेका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले आफ्ना स्वर्गिय पितामाता चिरञ्जीवी घिमिरे र राधा घिमिरेको नाममा १ लाख रुपैया बराबरको अक्षयकोष खडा गरि बिद्यालयको अभियानमा सघाउने घोषणा गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया