रामेछाप ८ मङ्सिर । सदरमुकाम मन्थलीमा क्रियाशील नवजागरण साकोसले मापदण्ड भित्र रहेर वित्तीय सुशासनमा रहँदै आएका आफ्ना शेयर सदस्यहरूका लागि संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण गरेको छ । शनिवार साकोसले आफ्नो कार्यालय परिसरमा जिल्लाका सरोकारवाला हरूको रोहबरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्बन्धित शेयर सदस्यहरूलाई उक्त कोषको रकम वितरण गरेको हो ।
नवजागरणले गत आवमा संस्था सँग वित्तीय कारोबार गरी संस्थाले तय गरेको मापदण्ड पुरा गरेर वित्तीय अनुशासन भित्र रहेर काम गर्दे आएका शेयर सदस्यहरूलाई प्रति सदस्य ७ हजार देखि २७ हजार रुपैयाँ सम्मको रकम चेक मार्फत हस्तान्तरण गरेको हो । साकोशले उक्त रकम बागमती प्रदेशका सदस्य आनन्द कुमार श्रेष्ठको हात बाट उपलब्ध गराएको हो । जस अन्तर्गत उक्त संस्थाले उक्त शीर्षकमा यस वर्ष १६ लाख ९७ हजार ८ सय २३ रुपैयाँ वितरण गर्न लागेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।
नीति विधि र पद्धतिका आधारमा सहकारी सञ्चालन हुनु पर्छ भन्ने मान्यता सहित वित्तीय सुशासन कायम गर्ने अभियानमा लागेको उक्त साकोसले कार्यक्रमको अवसर पारेर सहकारीले एक वर्षको अवधिमा गरेको कार्य प्रगति र हाल सम्म गरेको मोटो प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । संस्थाको प्रगति विवरण पेस गर्दे साकोसका अध्यक्ष सोमेश थापाले संस्थाले अवलम्बन गरेको सबै खाले नीति विधि र आर्थिक प्रद्धतिको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा संस्थाले कार्तिक मसान्त सम्ममा साँढे ७३ करोड रुपैयाँको कारोबार गर्न सफल भएको जानकारी पनि गराइएको थियो ।
सो अवसरमा उहाँले संस्थाले आफ्नो पारदर्शी व्यवहार र वित्तीय सुशासन गर्ने काममा कुनै पनि कमी आउन नदिने भन्दै यसका लागि सञ्चालक समिति सचेत र जिम्मेवार रहेको जानकारी पनि दिनु भयो ।
कार्यक्रमका अवसरमा संस्थापक मध्यबाट संस्थापक नारायण दास श्रेष्ठ संस्थामा रहेर १९ वर्ष काम गर्नु भएका निवर्तमान अध्यक्ष श्याम थापा तथा शेयर सदस्य एवं मन्थली १ का निवर्तमान वडा अध्यक्ष नारायण दास श्रेष्ठ,पूर्व सञ्चालक जगन्नाथ दाहाल लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दे बागमती प्रदेशका सदस्य आनन्द कुमार श्रेष्ठले नवजागरणलाई कुनै पनि कुरामा गल्ती गर्ने छुट नभएको भन्दै उसलाई जिल्लाको सहकारीको विकासमा अविभावकिय भूमिका खेल्नका लागि आग्रह गर्नु भयो । उहाँले वित्तीय शुशासननै कुनै पनि सहकारीको मुख्य आत्मा भएकोले यसलाई जोगाई राख्न पनि यसका सँचालकहरु सँग आग्रह गर्नु भयो । सो अवसरमा उहाँले विगतमा सहकारीको क्षेत्रमा राज्यले गरेको लगानीको खोजी गर्नु पर्नै बेला आएको पनि बताउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जेएन दाहाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे,नेफसुन जिल्ला प्रमुख सूर्य थापा लगायतका वक्ताहरूले नवजागरणले वित्तीय पारदर्शितामा खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया