साँघुटार- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगर नगरको विकास रणनीतिक योजना अनुसार अगाडी बढेको बताउनुभएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नगर विकासको लागि प्रवाह भएका विकास निर्माणका योजना लगायतका विषयमा गरिएको सार्वजनिक सुनुवाईमा बोल्दै नगर प्रमुख थापामगरले नगरका ९ ओटै वडाको आवश्यकताको आधारमा रणनीतिक योजना तयार भएको र त्यही रणनीतिक योजनामा रहेर काम गरीरहेको बताउनुभएको हो ।
त्यस्तै नगर प्रमुख थापामगरले ९ ओटै वडालाई अघिल्लो आर्थिक वर्ष देखि नै वडाको विषेशताको आधरमा पकेट क्षेत्र घोषणा गरेर काम भइरहेको समेत बताउनुभयो । त्यसैगरी सडक सञ्जाल नजोडिएका गाउँ–गाउँमा सडक पुर्याउने योजना पनि नगरपालिकाको रहेको उहाँको भनाई रहेको छ । त्यस्तै धेरै समय अघि देखि चर्चामा रहेको साँघुटार–रामेछाप–सेलेघाट सडक कालापत्रेको काम यस वर्ष देखिनै अगाडि बढ्ने तयारीमा रहेको र केही कारणले काम नभए नगरले नै त्यो सडकलाई स्तोउन्नती गर्ने तयारी रहेको समेत नगर प्रमुख थापा मगरको भनाई रहेको छ ।
नगर प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकले राखेका प्रश्नको जवाफ वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख र नगर प्रमुखले दिएका थिए । रामेछाप नगरपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा भएको कार्यक्रममा नेकपा रामेछाप नगरपालिकाका नगर अध्यक्ष मोतिलाल तामाङ र नेपाली काग्रेर रामेछाप नगरपालिकाका नगर सभापति कमलविक्रम कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया